अभिलाष गुप्ता
वीरगंज, २२ असोज । मधेश विश्वविद्यालय, वीरगंजस्थित कानून तथा जनप्रशासन संकायका दोस्रो सेमेष्टरका छात्र–छात्राहरूलाई आज जिल्ला प्रहरी कार्यालय पर्सामा विशेष प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले “ E-Governance र Digital Transformation” सम्बन्धी विस्तृत प्रस्तुति दिएका थिए। उनले वर्तमान सूचना प्रविधिको युगमा सुशासन, पारदर्शिता, सेवा प्रवाह र प्रशासनिक दक्षता अभिवृद्धिमा डिजिटल प्रणालीको भूमिकालाई औंल्याउँदै प्रहरी प्रशासनमा समेत डिजिटल प्रविधिको प्रयोगले ल्याएको परिवर्तनका अनुभव साझा गरे।
प्रहरी उपरीक्षक पाठकले विद्यार्थीहरूलाई इ–गभर्नेन्सका मुख्य आधारहरू सूचना प्रवाहको सरलता, नागरिकमैत्री सेवा, अनलाइन प्रणालीको प्रभावकारिता, तथा प्रशासनिक जवाफदेहिता बारे व्याख्या गर्दै व्यावहारिक उदाहरणका माध्यमबाट बुझाए।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि विभिन्न प्रश्न राखी प्रशासनिक सुधार, डिजिटल सेवा विस्तार, साइबर सुरक्षा तथा सार्वजनिक प्रशासनमा प्रविधिको प्रभावबारे जिज्ञासा राखेका थिए।
सो अवसरमा डिएसपी किशोर लम्सालको समेत उपस्थिति रहेको थियो। कार्यक्रमपछि विद्यार्थीहरूले जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखाहरू अपराध अनुसन्धान शाखा, ट्राफिक शाखा, नागरिक सहायता डेस्क लगायतको पनि अवलोकन गरे।
विद्यार्थीहरूले यस कार्यक्रमबाट प्रशासनिक प्रणालीको व्यावहारिक ज्ञान, प्रहरी प्रशासनको कार्यशैली र प्रविधिमुखी सेवा व्यवस्थापनबारे नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन्।
कार्यक्रमको समापनमा विश्वविद्यालयका प्रतिनिधिहरूले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोग र विद्यार्थीमैत्री पहलकदमीप्रति धन्यवाद ज्ञापन गरेका थिए।


 
                                    

 
