अभिलाष गुप्ता
वीरगंज, २३ असोज । विश्व दृष्टि दिवस–२०८२ को अवसरमा नेपाल नेत्रज्योती संघ, पर्साको आयोजनामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण चिनिमिलका सशस्त्र प्रहरीहरूका लागि निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरिएको छ।
कार्यक्रमको अध्यक्षता नेपाल नेत्रज्योती संघ पर्साका सभापति भगवती चौधरीले गर्नुभएको थियो। शिविरको उद्घाटन सशस्त्र प्रहरी उपरिक्षक पुरन भट्टले आफ्नै आँखा परीक्षण गराई गर्नु भएको हो।
यस शिविरबाट चिनिमिलस्थित सशस्त्र प्रहरी बलका ६८ जना सशस्त्र प्रहरीहरूले आँखा परीक्षण गराई चश्मा र औषधि प्राप्त गर्दै प्रत्यक्ष लाभ लिएका छन्। कार्यक्रमले सशस्त्र प्रहरीहरूलाई आँखाको स्वास्थ्य र दृष्टिसम्बन्धी समस्या पहिचानमा सहयोग पुर्याएको बताइएको छ।

कार्यक्रममा संघका उपाध्यक्ष मदन प्रसाद गुप्ता, सचिव सिताराम उपाध्याय, कोषाध्यक्ष दिपिका श्रेष्ठ, सदस्यहरू महन्थ प्रसाद यादव, गणेश साह, उमेश गुप्ता, सुनिता नेपाल, समित कर्ण र बसन्त गुप्ता लगायतको उपस्थिति रहेको थियो।
शिविरमा नेत्र सहायक अंजली चौधरी र टेक्निसियन आनन्द कुमार साहले आँखाको परीक्षण तथा प्राविधिक सहयोग प्रदान गरेका थिए।
संघका कार्यसमिति सदस्य राजन श्रीवास्तवले कार्यक्रमको सफल आयोजनाबारे जानकारी दिँदै सशस्त्र प्रहरीहरूको आँखाको स्वास्थ्य जाँचका लागि यस्ता शिविरले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
सभापति चौधरीले अन्त्यमा प्राविधिक टोली र सशस्त्र प्रहरी बलप्रति धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।


 
                                    

 
