अभिलाष गुप्ता
वीरगंज, २७ असोज । वीरगंज महानगरपालिकामा आज फोहोरमैला व्यवस्थापन र वातावरण संरक्षणको क्षेत्रमा एक ऐतिहासिक कदम अघि बढ्दै त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ। वीरगंज महानगरपालिका, Zero Waste Initiative Nepal र Surya Nepal Pvt. Ltd. बीच भएको उक्त सम्झौता अन्तर्गत वीरगंजलाई फोहोरमुक्त र वातावरणमैत्री सहर बनाउन दीर्घकालीन योजना अघि बढाइनेछ।
करिब चार करोड रुपैयाँको लगानीमा सञ्चालन हुने यो परियोजना पूर्ण रूपमा निजी क्षेत्रको लगानीमा निर्माण गरिनेछ। परियोजना निर्माण सम्पन्न भएपछि उक्त संरचना र प्रणाली वीरगंज महानगरपालिकालाई हस्तान्तरण गरिनेछ।
सम्झौता कार्यक्रम वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको विशेष उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा महानगरपालिकाका प्रशासकीय प्रमुख अर्बिन्दलाल कर्ण, Zero Waste Initiative Nepal का प्रतिनिधि, तथा Surya Nepal Pvt. Ltd. का पदाधिकारीहरू सहभागी थिए।
यस परियोजनाबाट शहरभित्र उत्पन्न हुने दैनिक फोहोरको वैज्ञानिक व्यवस्थापन, पुनःप्रयोग र रिसाइकलिङ प्रणालीलाई सुदृढ बनाइनेछ। साथै, प्लास्टिकजन्य फोहोर घटाउने, स्रोतमै फोहोर छुट्याउने अभ्यासलाई प्रोत्साहन गर्ने र सरसफाइ व्यवस्थापनमा निजी क्षेत्रको सहकार्यलाई सुदृढ बनाउने योजना रहेको महानगरले जनाएको छ।
मेयर सिंहले कार्यक्रममा बोल्दै भने, यो सम्झौता वीरगंजलाई सफा, हरित र दिगो सहर बनाउने हाम्रो प्रतिबद्धताको एउटा ठोस पहल हो। अब वीरगंजले फोहोर समस्या होइन, समाधानको उदाहरण प्रस्तुत गर्नेछ।
साथै, महानगरले यस परियोजना अन्तर्गत आधुनिक फोहोर संकलन केन्द्र, कम्पोस्ट प्लान्ट र रिसाइकलिङ प्रणाली स्थापना गर्ने तयारी गरिरहेको जनाएको छ।यस सम्झौतासँगै वीरगंज महानगरपालिकाले फोहोर व्यवस्थापनमा नयाँ युगको सुरुवात गरेको बताइएको छ।