अभिलाष गुप्ता
रक्सौल, ०८ कार्तिक । रक्सौल शहरको मुख्य सडकमा अवस्थित ऐतिहासिक सूर्य मन्दिर छठघाटलाई आगामी कार्तिक १० गते (अक्टोबर २७) मा मनाइने लोक आस्थाको महान पर्व छठका सन्ध्या अर्घ्यका लागि व्रती र श्रद्धालुहरूको सहजता एवं सुरक्षाका दृष्टिले सिंगार्ने र सजाउने कार्य तीव्र गतिमा भइरहेको छ।
यो जानकारी सूर्य मन्दिर समितिका सचिव शम्भु प्रसाद चौरसिया र मिडिया प्रभारी रजनीश प्रियदर्शीले संयुक्त रूपमा दिएका हुन्। उनका अनुसार नगर परिषद् रक्सौल तथा रिपूराज एग्रो प्रा.लि.को सहयोगमा सूर्य मन्दिर परिसर, घाट र पोखरीको सरसफाइ तथा साजसज्जाको कार्य युद्धस्तरमा जारी छ।
छठ व्रती र श्रद्धालुहरूको सुरक्षा र सुविधालाई सर्वोच्च प्राथमिकतामा राख्दै घाटमा फूल सजावट, बत्ती सजावट र सरसफाइका काम अन्तिम चरणमा पुगेका छन्। यसपटकको पण्डालमा स्वच्छता अभियानसँगै आउँदो बिहार विधानसभा चुनाव द्दण्द्दछ सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले सेल्फी प्वाइन्ट पनि तयार पारिँदैछ। साथै, हेल्प डेस्क र माइकिङको व्यवस्था पनि गरिएको छ।
सो अवसरमा पुलिस उपाधीक्षक मनीष कुमार र रक्सौल थानाध्यक्षले स्थल निरीक्षण गरी समितिद्वारा भइरहेको तयारीप्रति सन्तोष व्यक्त गरेका थिए।
कार्यक्रममा समितिका राकेश कुशवाहा, राजु कुमार गुप्ता, पवन किशोर कुशवाहा, आलोक कुमार श्रीवास्तव र दीपक कुमार गुप्ता लगायतका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस सम्बन्धमा जानकारी समितिका मिडिया प्रभारी रजनीश प्रियदर्शीले दिएका हुन्।


