अभिलाष गुप्ता
वीरगंज ०९ कार्तिक । वीरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहले आज महानगर क्षेत्रभित्रका विभिन्न छठघाटहरूको स्थलगत अनुगमन गरेका छन्। उनले घडिअर्वा पोखरी छठघाट, रानीघाट छठघाट,माईधिया पोखरी छठघाट, श्रीपुर पोखरी छठघाट, र आदर्शनगरस्थित स्वीमिङ पुल छठघाट लगायतका प्रमुख स्थलहरूमा पुगेर तयारी अवस्थाको अवलोकन गरेका हुन्।

अनुगमनका क्रममा मेयर सिंहले प्रत्येक घाटमा भइरहेको सफा–सफाइ, सुरक्षा, प्रकाश व्यवस्था, आवत–जावतको सहजता र सरोकारवालाको समन्वय सम्बन्धी कार्यहरूबारे जानकारी लिँदै आवश्यक निर्देशन दिएका थिए। उनले कमजोरीहरू तत्काल सुधार गर्न, सुरक्षामा विशेष ध्यान दिन तथा सर्वसाधारणले सहज र सुरक्षित वातावरणमा पूजा गर्न सक्ने व्यवस्था मिलाउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्।

मेयर राजेशमान सिंहका भनाइ अनुसार छठ हाम्रो आस्था, संस्कृति र पहिचानको पर्व हो। यस पर्वमा जनताको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइनेछ। कुनै पनि घाटमा समस्या नहोस् भन्ने उद्देश्यले महानगरले सबै तयारी पूरा गरेको छ। जनताको विश्वास र सहजीकरण नै हाम्रो मुख्य जिम्मेवारी हो।
उनका अनुसार, महानगरले सबै छठघाटहरूमा प्रकाश, सरसफाइ, स्वास्थ्य तथा ट्राफिक व्यवस्थापनका लागि विशेष टिम खटाएको छ र सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।



