29 June ,2026,Monday

सामाजिक संस्कार बिना आर्थिक समृद्धि असम्भव : मेयर सिंह

अभिलाष गुप्ता

वीरगंज, २५ पुष । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सामाजिक संस्कारको विकास बिना आर्थिक संस्कारको सुधार सम्भव नहुने स्पष्ट पार्नुभएको छ । वीरगंजमा आज सम्पन्न ‘आत्मनिर्भर समृद्ध वीरगंज–एक विराट सम्भावना’ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर सिंहले मानसिकताको परिवर्तन बिना दिगो आर्थिक समृद्धि हासिल गर्न नसकिने बताउनुभयो ।

मेयर सिंहले गलत प्रवृत्तिको खुलेर विरोध गर्नुपर्नेमा जोड दिँदै युवाहरू विशेषगरी लहैलहैमा लाग्ने प्रवृत्तिबाट सचेत हुनुपर्ने उल्लेख गर्नुभयो । “कसैको प्रभाव वा दबाबमा नपरी युवाहरू सकारात्मक र सिर्जनात्मक कार्यमा अग्रसर हुनुपर्छ,” उहाँले भन्नुभयो । वैभवशाली वीरगंज निर्माणका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउँदै उहाँले संघीय सरकारले वीरगंजलाई उपेक्षा गरेको आरोप लगाउनुभयो । देशभर आपूर्ति हुने अधिकांश सामान वीरगंज हुँदै जाने गरे पनि केवल ढुवानी मार्गका रूपमा सीमित हुँदा यहाँका नागरिकले धुलो–धुवाँ सहनुपरेको र अपेक्षित सुविधा नपाएकोप्रति उहाँले असन्तोष व्यक्त गर्नुभयो।

कार्यक्रममा मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्यले उद्यमशीलताको विकास अपरिहार्य रहेको बताउनुभयो । अब जागिर खोज्ने होइन, रोजगारी सिर्जना गर्ने संस्कार विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आर्थिक संस्कारले नै बजारलाई चलायमान बनाउने भएकाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने उहाको भनाइ थियो।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले तराई–मधेश द्रुत मार्ग निर्माणपछि वीरगंजको तीव्र विकास हुने विश्वास व्यक्त गर्नुभयो । एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी), सुख्खा बन्दरगाह (ड्राइपोर्ट) र वीरगंज भन्सार कार्यालय जस्ता संरचना हुँदाहुँदै पनि त्यसको प्रत्यक्ष लाभ शहरले लिन नसकेको उहाँले बताउनुभयो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले वीरगंजसँगै पर्सा र बारा जिल्लासमेत प्रभावित हुने गरी सरकार निजी क्षेत्रमैत्री नहुँदा उद्योग–कलकारखाना धराशायी हुँदै गएको बताउनुभयो । तीनै तहका करको बोझका कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था सिर्जना भएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले वीरगंज आफैंमा आर्थिक संस्कारयुक्त शहर भए पनि पछिल्लो समय अतिवाद बढ्दै गएको टिप्पणी गर्नुभयो । वीरगंजको पहिचान जोगाउन यहाँ रहेका प्रचुर सम्भावनाको उचित व्यवस्थापन र प्रवद्र्धन आवश्यक रहेको उहाँले बताउनुभयो ।

पिङ्क रोज मिडियाकी अध्यक्ष अमृता पाण्डेले आर्थिक नगरी वीरगंजको दिगो समृद्धिका लागि आर्थिक संस्कार अपरिहार्य रहेको आत्मबोधका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । संस्थाका प्रबन्ध निर्देशक राजेश महर्जनले पनि आर्थिक चेतना र सहकार्यबाट मात्र वीरगंजको सम्भावनालाई यथार्थमा रूपान्तरण गर्न सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा उद्योगी अशोक वैद्य, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. निरज कुमार सिंह, रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, अर्थविद् डा. दिपेन्द्र कुमार चौधरी, नेपाल राष्ट्र बैंक वीरगंजका निर्देशक सुशिल पौडेल, पर्सा जिल्ला अदालत बार एसोसिएशनका अध्यक्ष रामनारायण कुर्मी लगायतले आ–आफ्नो धारणा राखेका थिए।

अन्तरक्रियामा सहभागीहरूले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताका क्षेत्रमा बाहिरिने रकम स्वदेशमै खर्चिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...