वीरगंज, १० चैत्र । पर्यटकीय नगरी पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘जाउँ है पोखरा’ अभियान आज वीरगंजबाट औपचारिक रूपमा सुरु गरिएको छ। होटल सङ्घ पोखराको आयोजनामा भएको कार्यक्रम मा भारतीय तथा स्वदेशी पर्यटकलाई पोखरा भ्रमण का लागि आमन्त्रण गरिएको हो।
कार्यक्रममा सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले सीमावर्ती सहर वीरगंजका पर्यटकलाई पोखरा तथा आसपासका पर्यटकीय गन्तव्य अवलोकन गर्न आग्रह गर्नुभयो। उहाँले पोखरामा करिब छ खर्ब रुपैयाँको लगानीमा एक हजार २०० भन्दा बढी होटल सञ्चालनमा रहेको जानकारी दिँदै एकै दिन ४० हजारभन्दा बढी पर्यटकलाई आतिथ्य दिन सक्ने क्षमता रहेको उल्लेख गर्नुभयो।
त्यसैगरी टान गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरालगायत क्षेत्र हिमाली दृश्यावलोकन तथा ट्रेकिङका लागि उत्कृष्ट गन्तव्य भएको बताउँदै भ्रमणका लागि आग्रह गर्नुभयो।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले पोखराको उत्कृष्ट आतिथ्य सेवाका कारण सीमावर्ती क्षेत्रका पर्यटकका लागि आकर्षक गन्तव्य बनेको बताउनु भयो। उहाँले विगतमा मुग्लिन–पोखरा सडक खण्डको दुरावस्था भए पनि अहिले सडक सुधार भएसँगै आवागमन सहज भएको उल्लेख गर्नुभयो।
सङ्घका निवर्तमान अध्यक्ष अनिल कुमार अग्रवालले सिमरा र पोखराबीच विगतमा सञ्चालनमा रहेको हवाई सेवा पुनः सुचारु गर्नुपर्नेमा जोड दिनुभयो।
अभियान अन्तर्गत वीरगंज–विराटनगर–इलाम हुँदै हेटौँडा सम्म पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।


