अभिलाष गुप्ता
वीरगंज, २३ जेष्ठ । पब्लिक फिटनेस सेन्टर वीरगंजकाे नवौँ स्थापना दिवसको अवसरमा आयोजित दोस्रो पुश-अप्स प्रतियोगिता सम्पन्न भएको छ। वीरगंजकाे लिंक रोडमा आयोजित प्रतियोगितामा सुमित पटेल प्रथम, धिरज साह द्वितीय तथा बर्मा यादव तृतीय भएका छन्।
विजेताहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव ले संघ र प्रदेश सरकार नपुगेका स्थानमा स्थानीय सरकारले सेवा र सहयोग पुर्याउनुपर्ने बताएका थिए। उनले शारीरिक अभ्यास स्वस्थ जीवनका लागि आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल, खेलाडीहरू वेश आलम, सुजित यादव, अफताव आलम, खलिद हुसैन तथा अभिभावक मणिन्द्रलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितासँगै वार्षिक उत्सवको अवसरमा क्लबमा निरन्तर उपस्थिति जनाई योगदान पुर्याउने विशाल यादव, सुमित पटेल, सन्ध्या चौधरी, कृष्ण साह, मणिन्द्रलाल श्रेष्ठ र देवेन्द्र यादवलाई सम्मान गरिएको थियो।
पब्लिक फिटनेस सेन्टर वीरगंजकाे सञ्चालक, खेलाडी तथा प्रशिक्षक करण यादव की छोरी आहाना यादवले वार्षिकोत्सवको केक काटेकी थिइन्। करण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण शिवनाथ यादवले गरेका थिए।







