अभिलाष गुप्ता
वीरगंज, १५ कार्तिक । “नेतृत्व विकासमार्फत परिवर्तनको प्रेरणा राम्रो विद्यालय संस्कृतितर्फको यात्रा भन्ने मूल नाराका साथ आज विद्यालयले विद्यालय व्यवस्थापन टोली तथा कक्षा इन्चार्जहरूका लागि एक दिवसीय नेतृत्व तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
उक्त तालिम Early Childhood Education Centre (ECEC) का प्रबन्ध निर्देशक पिताम्बर न्यौपाने र प्रोफेसनल ट्रेनर सुमिन महर्जन द्वारा सहजीकरण गरिएको थियो।
कार्यक्रमको प्रमुख उद्देश्य विद्यालयमा सकारात्मक कार्यसंस्कृति, प्रभावकारी सञ्चार र आदर्श नेतृत्व प्रवर्द्धन गर्नु रहेको थियो। तालिमका क्रममा सहभागीहरूलाई नेतृत्वका आधारभूत गुण, टोली व्यवस्थापनका सीप, विद्यार्थी–केन्द्रित वातावरण निर्माणका उपाय र सकारात्मक सोचको अभ्यास गराइयो।
सहभागीहरूले तालिमलाई रोचक, ज्ञानवर्धक र अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन्। तालिमले विद्यालयमा कार्यरत शिक्षक तथा व्यवस्थापन टोलीबीच सहकार्य र आत्मविश्वास बढाउने विश्वास व्यक्त गरिएको छ।
विद्यालय परिवारले प्रशिक्षणका लागि मूल्यवान समय र प्रेरणादायी मार्गदर्शन प्रदान गर्नुभएका प्रशिक्षकद्वय श्री पिताम्बर न्यौपाने र श्री सुमिन महर्जन प्रति हार्दिक आभार व्यक्त गरेको छ। उक्त कार्यक्रममा गौतम स्कुलका प्रीन्सिपल गणेश क्षेत्री,शर्मा सर लगाएतका शिक्षकहरुको उपस्थिति रहेको थियोे।
यस तालिममार्फत विद्यालयले नेतृत्व क्षमताको विकास गर्दै सकारात्मक परिवर्तन र गुणस्तरीय विद्यालय संस्कृतिको प्रवर्द्धनतर्फ एक कदम अगाडि बढेको छ।


