अभिलाष गुप्ता
वीरगंज, २० कार्तिक । पर्सा जिल्लामा पछिल्ला दिनहरूमा भारतबाट बिना कागजात तथा विभिन्न किसिमले मोडिफाइ गरिएको मोटरसाइकल नेपाल प्रवेश गर्ने क्रम बढ्दै गएको छ। यसलाई नियन्त्रणमा लिन जिल्ला ट्राफिक प्रहरीले निगरानी कडा गरेको जनाएको छ।
यस्तै निगरानीका क्रममा ट्राफिक प्रहरी कार्यालय पर्सा अन्तर्गत कार्यरत प्रहरी टोलीले आज मोडिफाइ गरिएको भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ।
वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट नजिक ट्राफिक प्रहरी सहायक निरीक्षक दिनेश रामको कमाण्डमा खटिएको टोलीले उक्त मोटरसाइकल नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, उक्त मोटरसाइकलमा इञ्जिन, साइलेंसर, लाइट, ह्याण्डल लगायतका भागमा परिवर्तन (मोडिफिकेशन) गरिएको थियो। सो क्रममा चालकले आवश्यक कागजात प्रस्तुत गर्न नसकेपछि सवारीसाधन नियन्त्रणमा लिइएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका एक अधिकारीका अनुसार, पछिल्लो समय भारततर्फबाट मोडिफाइ सवारीसाधन नेपाल प्रवेश गर्ने क्रम तीव्र भएको छ, जसले सडक सुरक्षामा जोखिम बढाएको छ।
उनका अनुसार, “यस्ता सवारीसाधनले अत्यधिक आवाज निकाल्ने, गति नियन्त्रण गुमाउने र दुर्घटनाको सम्भावना बढाउने भएकाले नियन्त्रण अभियानलाई अझ कडा पारिएको छ।”
ट्राफिक प्रहरीले यस्ता मोटरसाइकल र चालकहरूलाई कानूनी कारबाहीमा ल्याउने तथा दोहोरिन नदिने गरी निरन्तर निगरानी गर्ने जनाएको छ।
प्रहरीले सर्वसाधारणलाई पनि मोडिफाइ सवारीसाधन नचलाउन र त्यस्ता सवारीसाधन देखेमा नजिकैको ट्राफिक प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।


