अभिलाष गुप्ता
वीरगंज, २१ मंसिर । नेपाल जनता पार्टीका वरिष्ठ नेता सन्तोषानन्द महाराज (सन्तोष पटेल) ले आफूलाई वीरगंज वडा नम्बर ३ का नदिन अन्सारी नामक व्यक्तिले भिडियो मार्फत ज्यान मार्ने धम्की दिएको बताएका छन् । महाराजले आइतबार वीरगन्जको माइस्थान मन्दिर प्रांगणमा पत्रकार सम्मेलन गर्दै उक्त घटना सार्वजनिक गरेका हुन् ।
उनका अनुसार आफू लामो समयदेखि हिन्दू समाजको पक्षमा सामाजिक तथा धार्मिक गतिविधि गर्दै आएको कारण केही समूहले आफूलाई टार्गेट बनाइरहेका छन् । पत्रकार सम्मेलनका क्रममा महाराजले धम्कीपूर्ण भिडियो पनि सार्वजनिक गरे, जसमा मुस्लिम पहिरनमा देखिने एक युवकले हिन्दु समुदाय विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिँदै सन्तोषानन्द महाराजलाई हत्या गरेर भारतको रक्सौलस्थित रेलको पटरीमा फाल्ने धम्की दिएको देखिन्छ ।
कार्यक्रममा बोल्दै महाराजले आफू पर्सा क्षेत्र नम्बर २ बाट नेपाल जनता पार्टीको तर्फबाट आगामी चुनाव लड्ने तयारीमा रहेको र यसकै कारण आफूलाई निशाना बनाइएको दाबी गरे ।
उनका अनुसार धम्कीसम्बन्धी सम्पूर्ण जानकारीसहित जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता गरिसकिएको र दोषीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढेको पनि जानकारी दिए ।
महाराजले आफ्नो सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै दोषीलाई शीघ्र कारबाही गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन् ।



