वीरगंज, २१ मंसिर । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ ले आसन्न १५ औँ महाधिवेशन र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको निर्वाचन लक्षित गर्दै आइतबार क्षेत्रीय कार्यवाहक अध्यक्ष अनिल प्रसाद सिंहको अध्यक्षतामा महत्वपूर्ण बैठक सम्पन्न गरेको छ । बैठकमा संगठन सुदृढीकरणदेखि उम्मेदवार सिफारिस, सदस्यता नवीकरण तथा वितरण सम्बन्धी एजेन्डामा विस्तृत छलफल गरिएको थियो ।
पर्सा–१ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ अनिल कुमार रुङ्टाको एकमात्र नाम सिफारिस गरिएको महाधिवेशन प्रतिनिधि दिनेश पन्तले बताए । नेतृत्वको दाबी अनुसार क्षेत्रबाट अन्य दाबी नआएकाले उनी सर्वसम्मत रूपमा सिफारिस भएका हुन्। विभिन्न समूहगत कोटाबाट यी नामहरू सिफारिस गरिएको छ– जनजाति : राजकृष्ण अमात्य, ईश्वरभक्त श्रेष्ठ, महिला : किरण सरकार, दलित : बुनेल राम, मुस्लिम महिला : कसीमा, खातुन, राष्ट्रिय सभा – दलित : शम्भु हजरा, राष्ट्रिय सभा – अपाङ्गता समूह : सन्तोष सिंह, राष्ट्रिय सभा – महिला : अनामिका यादवको नाम सिफारिस गरिएको छ ।
बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य अनिल रुङ्टाले कांग्रेसलाई लोकतान्त्रिक मूल्य, जन विश्वास र राजनीतिक विकल्पका रूपमा सबल बनाउने “एकता, पारदर्शिता र जिम्मेवारीपूर्ण नेतृत्व चयन” अनिवार्य रहेको बताए ।
उनले महाधिवेशनलाई “नेतृत्व चयन मात्र होइन, नीति–दिशा र भविष्य निर्धारणको ऐतिहासिक मोड” भन्दै कार्यकर्तालाई साझा दृष्टिमा उभिन आह्वान गरे ।
यसैगरी, कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले पार्टीभित्र अनुशासन, समन्वय र सक्रियता बढिरहेको उल्लेख गर्दै महाधिवेशनलाई “सुधार र पुनर्संरचनाको अवसर” का रूपमा उपयोग गर्नुपर्ने धारणा राखे ।
उनका अनुसार, “पारदर्शी र परिणाममुखी राजनीतिक अभ्यास संस्थागत भए कांग्रेस पुनः जनताको पहिलो विकल्प बन्नेछ ।”
बैठकमा कांग्रेसका केन्द्रीय सदस्य, पूर्व पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिहरू उपस्थित रहे पनि क्षेत्रीय सचिव विनय गुप्ताले कार्यसमितिको कोरम नपुगेको दाबी गर्दै बैठकको वैधानिकता प्रश्न उठाए । तर कार्यवाहक सभापति अनिल प्रसाद सिंहले भने– “बैठक विधिसम्मत रूपमा बसेको हो । प्रत्यक्षतर्फ क्षेत्रबाट एकल नाम आएपछि प्रक्रिया सजिलै अघि बढेको सिंहले बताए।”
कार्यक्रममा सचिव इम्तियाज आलम, नेविसंघका संस्थापक नेता राजकृष्ण अमात्य, पूर्व जिल्ला उपसभापति राजु गुप्ता, पूर्व नगर सभापति विजय सर्राफ, युवा नेता कन्हैया ठाकुर, रामनिवास यादव, बाबुनन्द पटेल, प्रेस युनियन मधेस प्रदेशका लेखा सदस्य राहुल गुप्ता लगायतको उपस्थितिले बैठक लाई थप सक्रिय बनाएको थियो।



