अभिलाष गुप्ता
वीरगंज, २६ पुष । श्री गणेश बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा आज एक समारोह बीच वीरगंजमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले सहकारीहरु आर्थिक अनुशासन कायम गर्न, बचत संस्कार विकास गर्न तथा स्थानीय स्तरमा उद्यमशीलता प्रवद्र्धन गर्न महत्वपूर्ण आधार बनेको उल्लेख गर्नुभयो । उहाँले सहकारी संस्थाले सदस्यहरूको सानो–सानो बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुयाइरहेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुबोद गुप्ताले सहकारी तथा व्यावसायिक संस्थाहरूले देशको आर्थिक विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै सहकारी र निजी क्षेत्र आर्थिक समृद्धिका दुई महत्वपूर्ण खम्बा भएको उल्लेख गर्दै पारदर्शिता, सुशासन र सदस्यको सक्रिय सहभागिता बिना कुनै पनि संस्था दीगो बन्न नसक्ने बताउनुभयो । उहाँले वर्तमान आर्थिक चुनौतीका बीच पनि बचत र लगानीको संस्कार विकास गर्न सहकारीहरूको भूमिका अझ प्रभावकारी बन्नुपर्नेमा जोड दिनुभयो । केन्द्रीय सदस्य गुप्ताले स्थानीय स्तरमा रोजगारी सिर्जना, उद्यमशीलताको प्रवद्र्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा यस्ता संस्थाहरूले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

संस्थाका अध्यक्ष प्रदिप केडियाले प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभामा आर्थिक बर्ष २०८१/०८२ मा संस्थाले २७ करोड ११ लाख ६० हजार ५ सय ६६ रुपैया निक्षेप संकलन गरेको जानकारी दिनुभयो । त्यस्तै ५१ लाख ४२ हजार ६ सय ४२ रुपैया आमदानी भएको बताउनु भयो ।
निर्विरोध चयन हुनुभएका अध्यक्ष गोपाल केडियाले आफ्नो कार्यकालमा पारदर्शिता, सुशासन र उत्तरदायित्वलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सहकारीका सबै आर्थिक कारोबारलाई स्पष्ट, जवाफदेही र सदस्यमैत्री बनाउँदै सदस्यहरूको विश्वासलाई संस्थाको मुख्य पूँजीका रूपमा आत्मसात् गरेर अघि बढ्ने बताउनुभयो ।
उहाँले सदस्यहरूको आवश्यकता र क्षमता अनुसार बचत तथा कर्जा योजनालाई थप प्रभावकारी बनाइने उल्लेख गर्दै कृषि, साना व्यवसाय, महिला उद्यमशीलता र युवा स्वरोजगारलाई प्राथमिकता दिँदै सहकारीलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने लक्ष्य रहेको भन्दै आधुनिक प्रविधिको प्रयोग मार्फत सेवा प्रवाहलाई सरल, छरितो र समयानुकूल बनाइने बताउनु भयो ।
साथै केडियाको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरिएको छ । उपाध्यक्षमा निरज अग्रवाल, महासचिवमा छठु लाल खेतान, कोषाध्यक्षमा प्रेमचन्द गोयल लगायत रहेका छन । कार्यक्रममा बीरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अनिल अग्रवाल, पूर्व अध्यक्ष गणेश लाठ, जिल्ला बचत तथा ऋण सहकारी संस्थाकका अध्यक्ष हरेराम पटेल, संस्थाका कानुनी सल्लाहकार बिनय सिंह लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।



