पोखरिया, २६ पौष । पर्सा जिल्लाको पोखरिया नगरपालिका–४ मा अवस्थित प्रादेशिक अस्पताल पोखरियाको मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णा प्रसाद यादव तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगी लाल रायले संयुक्त रूपमा औपचारिक उद्घाटन गरेका छन्।
उद्घाटन समारोहमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारले अस्पतालमा हाल उपलब्ध स्वास्थ्य सेवा, उपचार प्रक्रिया तथा भावी आवश्यकताबारे विस्तृत जानकारी गराउँदै आवश्यक उपकरण, औषधि, प्रयोगशाला सामग्री र जनशक्ति मागसहितको प्रतिवेदन मुख्यमन्त्री यादवलाई हस्तान्तरण गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पोखरिया प्रादेशिक अस्पताललाई छिट्टै उन्नति र विकासको केन्द्रका रूपमा अघि बढाइने विश्वास व्यक्त गरे। मधेश प्रदेशमा कार्यरत चिकित्सकहरूलाई दरबन्दी भएका स्थानमै अनिवार्य रूपमा खटाइने र अटेरी गर्नेहरूलाई कारबाही गरिने चेतावनी दिँदै उनले अस्पतालका लागि आवश्यक भौतिक संरचना, उपचार उपकरण, ल्याब केमिकल तथा जनशक्ति यथाशीघ्र व्यवस्थापन गरिने आश्वासन दिए।

पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युमन प्रसाद चौहानले अस्पतालको समग्र विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै कर्मचारी व्यवस्थापन र पूर्वाधार विकासमा स्थानीय सरकार सधैं सहयोगी रहने प्रतिबद्धता जनाए। पोखरियाको विकास र अस्पतालको प्रगतिको लागि सर्वपक्षीय सहयोग अपरिहार्य रहेको उनले बताए।
कार्यक्रममा पोखरियास्थित १२ बिघा ऐलानी जग्गामा रंगशाला निर्माण तथा वडा नम्बर ४ मा रहेको विशाल हनुमान मन्दिरलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न बजेटको मागसम्बन्धी प्रस्तावहरू पूर्व मेयर दीप नारायण रौनियारलगायत वक्ताहरूले उठाएका थिए। विनियोजित बजेट न्यून भएको भन्दै प्रदेश सरकारलाई ध्यानाकर्षण पत्रसमेत बुझाइएको थियो।
प्रादेशिक अस्पताल विकास समिति अध्यक्ष उमेश प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भूमि व्यवस्था तथा कृषि मन्त्री श्याम पटेल, वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी, पर्व मन्त्री जनार्दन सिंह क्षेत्री, पूर्व मन्त्री, पूर्व सांसद, प्रदेश सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साथै कार्यक्रममा पोखरिया नगरपालिकाका वडा अध्यक्ष, पूर्व वडा अध्यक्ष, कार्यपालिका सदस्य, बुद्धिजीवी, युवा, सञ्चारकर्मी, अस्पतालका कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण शिव पटेलले गरेका थिए।
समापन मन्तव्यमा विकास समिति अध्यक्ष चौहानले प्रदेश सरकारले दिएको जिम्मेवारी इमानदारीपूर्वक बहन गर्दै पोखरिया प्रादेशिक अस्पतालको हकहित र प्रगतिका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोग गर्ने सम्पूर्ण पक्षप्रति धन्यवाद ज्ञापन गरे।



