अभिलाष गुप्ता
वीरगंज, २७ पुष । नेपाली सेना, श्री जङ्गण, वीरगंजको आयोजनामा पर्सा गढीमा सम्पन्न अन्तर विद्यालय क्विज प्रतियोगितामा विद्या सदन माध्यमिक विद्यालय, वीरगंजले प्रथम स्थान हासिल गर्न सफल भएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान प्राप्त गर्न सफल विद्यार्थीहरू आयान अन्सारी, यश यादव र सुफियाना खातुनलाई विद्यालय परिवारले हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।

यस गौरवपूर्ण उपलब्धिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण विद्या सदन टिमलाई विद्यालय प्रशासनले विशेष धन्यवाद तथा बधाई दिएको छ। विद्यालयको शैक्षिक वातावरण, शिक्षकहरूको मार्गदर्शन तथा विद्यार्थीहरूको मेहनतले यस्तो सफलता सम्भव भएको विद्यालयको धारणा रहेको छ।
यसै अवसरमा, ज्ञानमूलक तथा प्रेरणादायी कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेकोमा नेपाली सेना, श्री जङ्गण, वीरगंज परिवारप्रति विद्यालयले हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गरेको छ।
विद्या सदन माध्यमिक विद्यालय, वीरगंजका प्रिन्सिपलले यस्ता प्रतियोगिताले विद्यार्थीहरू को बौद्धिक क्षमता अभिवृद्धि गर्दै आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमतामा थप वृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ।





