वीरगंज, ३ माघ । नवदीप एकेडेमीको १३ औैं वार्षिकोत्सव शनिवार सम्पन्न भएको छ। वीरगंज महानगरपालिका–१५ स्थित विद्यालय परिसरमा सांस्कृतिक तथा खेलकुद कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।

एकेडेमीका फाउन्डर–डाइरेक्टर सुशीला साह र जोशना गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य इन्जिनियर विशाल साह, कार्यक्रम सञ्चालन नेहा अग्रवाल र स्वरुपा पौडेलले गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले वार्षिकोत्सवको उदघाटन गर्दै प्रमुख अतिथि चौधरीले वार्षिकोत्सवका अवसरमा आज र भोलि आयोजना गरिएका सांस्कृतिक तथा खेलकुद गतिविधिले नवदीप एकेडेमीलाई एक नमुना विद्यालयको रूपमा स्थापित गरेको बताउनुभयो । उहाँले विद्यालयले शैक्षिक उपलब्धिसँगै खेलकुद, संस्कृति तथा अतिरिक्त क्रियाकलापमा निरन्तर प्रगति गर्दै आएको उल्लेख गर्नुभयो ।
उहाँका अनुसार वर्षभरि सञ्चालन गरिने शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधिको उपलब्धि वार्षिक उत्सवमार्पत अभिभावकहरूले प्रत्यक्ष अवलोकन गर्न पाउने हुँदा बालबालिकाको सिकाइ वातावरण बुझ्न सहज हुने गर्दछ ।
प्याब्सनका केन्द्रीय सदस्य छेदुप लामाले अभिभावकहरूलाई बालबालिकाको अत्यधिक मोबाइल प्रयोगप्रति सचेत रहन आग्रह गर्नुभयो। मोबाइलको बढी प्रयोगले विद्यार्थीको अध्ययन र मानसिक विकासमा नकारात्मक असर पार्ने भन्दै उहाँले सन्तुलित प्रयोगमा ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्याब्सन जिल्ला सदस्य मञ्जु रानाभाट, लायन्स क्लबका बासु तिमल्सिना, श्याम गुप्ता तथा जन भण्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राईलगायतले विद्यालयको शैक्षिक वातावरण, अनुशासन र विद्यार्थीको सर्वाङ्गीण विकासवारे आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले आकर्षक नृत्य, गीत तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै अभिभावक तथा दर्शकहरूको मन जितेका थिए।
नवदीप एकेडेमीको शैक्षिक गुणस्तर, अनुशासन र बहुआयामिक विकासलाई प्रभावकारी रूपमा उजागर गरेको सहभागी अभिभावक तथा अतिथिहरूको प्रतिक्रिया व्यक्त गर्नुभएको थियो ।












