अभिलाष गुप्ता
वीरगंज, ०९ माघ । सशस्त्र प्रहरी बल देशको सुरक्षा, अनुशासन र समर्पणको प्रतीकका रूपमा स्थापित संस्था हो। यही गौरवमय यात्राको २५ वर्ष पूरा भएको अवसरमा पर्सा जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल न. १३ गणमा २५ औँ रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न भएको छ।
उक्त समारोह बिरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रम सशस्त्र प्रहरी बल न. १३ गणका प्रमुख गणपति पुरण चन्द भट्टको अध्यक्षतामा आयोजना गरिएको थियो।
समारोहमा विशिष्ट अतिथिका रूपमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, हरि गौतम, सशस्त्र प्रहरी बलका लोकेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो। साथै विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर राजेशमान सिंहले सशस्त्र प्रहरी बलले देशको सीमा सुरक्षा, शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा राष्ट्रसेवामा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै यस संस्थाले नागरिकको भरोसा जित्न सफल भएको बताउनुभयो। उहाँले सशस्त्र प्रहरी बल र स्थानीय तहबीच सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभयो।
अध्यक्षीय मन्तव्यका क्रममा गणपति पुरण चन्द भट्टले सशस्त्र प्रहरी बलको २५ वर्षे यात्रामा भोग्नुपरेका चुनौती र प्राप्त उपलब्धिबारे प्रकाश पार्दै भविष्यमा अझ व्यावसायिक, अनुशासित र जनमुखी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
रजत जयन्ती समारोहको अवसरमा विगत २५ वर्षदेखि राष्ट्रसेवामा समर्पित जुनियरदेखि सिनियर तहसम्मका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा वीर सहिद प्रहरीहरूको योगदानको स्मरण गर्दै हार्दिक बधाई र सम्मान व्यक्त गरिएको थियो। कार्यक्रमले सशस्त्र प्रहरी परिवारप्रति सम्मान, गर्व र प्रेरणाको सन्देश दिएको सहभागीहरूको भनाइ थियो।







