सैलेश गुप्ता
वीरगंज, १२ माघ । भारतको महावाणिज्य दूतावास, वीरगंजले आज आफ्नै दूतावास परिसरभित्र भारतको ७७ औँ गणतन्त्र दिवस भव्य एवं उत्साहपूर्ण वातावरणमा मनाएको छ। समारोहको सुरुवात महावाणिज्यदूत डी. एस. मीना ले भारतको राष्ट्रिय झण्डा फहराउँदै गर्नुभएको थियो। त्यसपछि उहाँले भारतका राष्ट्रपति द्वारा पठाइएको गणतन्त्र दिवसको सन्देश वाचन गर्नुभएको थियो।
समारोहमा विशेष शिक्षा विद्यालय सहित वीरगंजका १२ वटा विभिन्न विद्यालयका विद्यार्थीहरूले मनमोहक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। नृत्य, गीत तथा विविध सांस्कृतिक प्रस्तुतिहरूमार्फत विद्यार्थीहरूले देशभक्ति, एकता र समृद्ध भारतीय संस्कृतिको सन्देश प्रवाह गरेका थिए। उनीहरूको आकर्षक प्रस्तुतिले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाउँदै कार्यक्रमस्थल देशभक्तिको भावनाले भरिएको थियो।

कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, पूर्व केन्द्रीय मन्त्री, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बलका उपरीक्षक, वीरगंज उद्योग वाणिज्य संघ तथा नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, कविहरू, स्थानीय व्यापारीहरू, नेपाल–भारत मैत्री संघका प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिकाहरू, विद्यार्थीहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। दूतावासका अनुसार कार्यक्रममा करिब ५ सय जनाभन्दा बढीको सहभागिता रहेको थियो।
गणतन्त्र दिवस समारोहसँगै दूतावास परिसरभित्र भारतको राष्ट्रिय गीत “वन्दे मातरम्” को १५० औँ वार्षिकोत्सवको अवसरमा विशेष प्रदर्शनी पनि आयोजना गरिएको थियो। उक्त प्रदर्शनीमा विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिकाहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
समग्रमा, भारतको ७७ औँ गणतन्त्र दिवस समारोहले नेपाल–भारतबीचको ऐतिहासिक मैत्री सम्बन्ध, सांस्कृतिक आदान–प्रदान र आपसी सद्भावलाई अझ सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।







