अभिलाष गुप्ता
वीरगंज, १४ माघ । प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टि–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत छैठौं दिन तीनवटा खेल सम्पन्न भएका छन्। सबै खेल १५–१५ ओभरमा आधारित थिए।छैठौं दिनको पहिलो खेलमा मनकामना माध्यमिक विद्यालयले बीरगन्ज पब्लिक स्कूललाई ९८ रनले पराजित गर्यो। टस जितेर ब्याटिङ गरेको मनकामनाले ७ विकेटको क्षतिमा १४६ रन बनायो। जवाफमा वीरगंज पब्लिक स्कूल ७ विकेट गुमाउँदै ४८ रनमै समेटियो। मनकामनाका अबुबक्कर समानी म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेलमा ओम नेशनल स्कुलले जीवन ज्योति माध्यमिक विद्यालयलाई १५ रनले हरायो। ओम नेशनलले सबै विकेट गुमाउँदै १०० रन बनायो भने १०१ रनको लक्ष्य पछ्याएको जीवन ज्योति ८५ रनमै सीमित भयो। ओम नेशनलका अरविन्द कुमार साह म्यान अफ द म्याच बने।छैठौं दिनको अन्तिम खेलमा एमईएसले फुर्कान एकेडेमीलाई ५० रनले पराजित गर्यो। एमईएसले ६ विकेट गुमाउँदै १०५ रन बनायो भने फुर्कान एकेडेमी ९ विकेटको क्षतिमा ५५ रनमै रोकियो। एमईएसका एजाज खान म्यान अफ द म्याच घोषित भए। आयोजकका अनुसार प्रतियोगितामा प्रतिस्पर्धा दिनप्रतिदिन रोमाञ्चक बन्दै गएको छ।
यसैबीच, प्याब्सनको आयोजनामा सञ्चालन भइरहेको प्याब्सन जुनियर फुटबल प्रतियोगिता अन्तर्गत पाँचौं दिन चारवटा खेल सम्पन्न भएका छन्। खेलपछि एसआर ग्यालेक्सी, मुनलाईट विद्यालय, बिकन माध्यमिक विद्यालय र ठोरी एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन्।पहिलो खेलमा एसआर ग्यालेक्सीले गुरुकुल विद्यालयलाई ३–० गोलले पराजित गर्यो। आलोक गिरी म्यान अफ द म्याच बने।
दोस्रो खेलमा मुनलाईट विद्यालयले सफल एकेडेमीलाई २–० गोलले हरायो। प्रणव पंडित उत्कृष्ट खेलाडी घोषित भए।तेस्रो खेलमा ठोरी एकेडेमीले नवदीप एकेडेमीलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्यो। सागर पन्त म्यान अफ द म्याच बने।पाँचौं दिनको अन्तिम खेलमा बिकन माध्यमिक विद्यालयले साउथ जोन विद्यालयलाई २–० गोलले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो। अंश चौधरी म्यान अफ द म्याच घोषित भए।आयोजकका अनुसार आगामी खेलहरूमा थप रोमाञ्चक प्रतिस्पर्धा र उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ।







