अभिलाष गुप्ता
वीरगंज, १५ माघ । बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. ०१, रहरियाडीमा विवाहेत्तर सम्बन्ध तथा अनैतिक प्रेमको कारण भएको दोहोरो हत्या प्रकरणमा पक्राउ परेका दुई जनालाई बारा जिल्ला अदालतले अनुसन्धानका लागि बिहीबार पाँच दिनको म्याद थप गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतककी पत्नी मनिता देवी मण्डल र उनका प्रेमी धर्मेन्द्र महतो धानुकलाई हिरासतमा राखी पहिलोपटक म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो।
परवानीपुर–१, रहरियाडीमा बुधबार बिहान करिब २ बजेको समयमा धारिलो हतियार प्रहारबाट ४६ वर्षीया सुमित्रादेवी मण्डल र उनका २८ वर्षीय छोरा रामईश्वर मण्डलको हत्या भएको थियो। घटनामा ५२ वर्षीय ससुरा जगरुप महतो र २२ वर्षीया नन्द रिना कुमारी मण्डल घाइते भएका छन्। उनीहरूको उपचार परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार हत्या मनिता देवी मण्डलले धर्मेन्द्र महतो धानुकको सहयोगमा गरेको खुलेको छ। उनले आफ्ना श्रीमान् रामईश्वर मण्डल र सासु सुमित्रादेवीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। घटनाको मुख्य योजनाकार मनिता देवी मण्डल नै रहेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार धर्मेन्द्र महतो धानुक प्रसौनी गाउँपालिका–७, बन्जरियाका निवासी हुन्। उनी वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा कार्यरत थिए र गत माघ ११ गते काठमाडौँ आइपुगेपछि मनितासँग मिलेर उक्त घटना घटाएको खुलेको छ।
मनिता देवी मण्डललाई उपचारपछि अस्पतालबाट नियन्त्रणमा लिइएको र धर्मेन्द्र महतो धानुकलाई बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं. ०४, मुसहर्वाबाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्। अभियुक्तहरूलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







