अभिलाष गुप्ता
वीरगंज, १५ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) पर्सा क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर–२९ मुसैलीमा व्यापक मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उहाँले क्षेत्रका नागरिकका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिनुभएको थियो।
घरदैलो तथा भेटघाटका क्रममा उम्मेदवार यादवले शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधार विकासलाई आफ्नो प्रमुख प्राथमिकताका रूपमा अघि सार्नुभएको छ। उहाँले गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, युवालाई लक्षित रोजगारीका अवसर र सडक, खानेपानी तथा ढलजस्ता आधारभूत संरचनाको विकास बिना समग्र विकास सम्भव नहुने बताउनुभयो।
कार्यक्रममा स्थानीय अगुवा कार्यकर्ता, बुद्धिजीवी, युवा, महिला तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। भेटघाटका क्रममा सहभागी मतदाताले शिक्षा सुधार, स्वास्थ्य सेवाको पहुँच, बेरोजगारी समस्या, सडक तथा सरसफाइ जस्ता विषयमा आफ्ना सुझाव र गुनासा राखेका थिए। उनीहरूले विकास र सुशासनका एजेन्डामा उम्मेदवार यादवको स्पष्ट दृष्टिकोणप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आगामी निर्वाचनमा सहयोग र समर्थन रहने विश्वास व्यक्त गरेका छन्।
नेकपा (एमाले) ले पर्सा क्षेत्र नम्बर–२ मा घरदैलो तथा जनसम्पर्क अभियानलाई अझ तीव्र बनाउँदै स्थानीय तहसम्म संगठन सुदृढीकरणमा केन्द्रित रहेको जनाएको छ। पार्टीका अनुसार यस्ता कार्यक्रममार्फत जनताको विश्वास जित्दै निर्वाचनमा मजबुत उपस्थितिका लागि तयारी भइरहेको छ।










