वीरगंज, १८ माघ । एमाले पर्सा क्षेत्र नम्बर–२ अन्तर्गत आज वीरगंज महानगरपालिका–२५ श्रीसियामा अगुवा कार्यकर्ता भेला भव्य रूपमा सम्पन्न भएको छ।
क्षेत्रीय अध्यक्ष मनोज कुशवाहाको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय सदस्य एवं पूर्व मेयर विजय सरावगी, मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, महानगर कार्यवाहक अध्यक्ष लियाकत अली, नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी, खुरम आलमलगायतले धारणा राखेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले यसअघि निर्वाचित नेताले अपेक्षित काम गर्न नसकेको आरोप लगाउँदै शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासका क्षेत्रमा अझै धेरै काम बाँकी रहेको बताइन्। मधेश प्रदेशमा महिलाको अवस्था नाजुक रहेको उल्लेख गर्दै उनले महिला सशक्तिकरण र जीवनस्तर सुधारका लागि विशेष पहल गर्ने आफ्नो लक्ष्य रहेको स्पष्ट पारिन्।
आफू युवा भएको कारण युवाले भोगिरहेका समस्या र महिलाले समाजमा झेल्नुपरेका कठिनाइहरू संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै यादवले आफू पद, पावर वा पैसाका लागि नभई नागरिकको जीवनस्तर सुधार र देशको समग्र विकास का लागि राजनीतिमा होमिएको बताइन्।
उम्मेदवार यादवले आगामी निर्वाचनमा ‘सूर्य’ छापमा मतदान गरी आफूलाई विजयी बनाउन मतदातासँग आग्रह समेत गरिन्।








