अभिलाष गुप्ता
वीरगंज, १८ माघ । वीरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाईस्थित साउथजोन माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ३ की छात्रा विद्या पटेलले मधेस प्रदेश स्तरीय Drawing & Coloring प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उल्लेखनीय सफलता हासिल गरेकी छन्।
चन्द्रपुरमा सम्पन्न उक्त प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भएकी विद्या पटेलले Consolation Position प्राप्त गर्दै रु. ५ हजार नगद पुरस्कार जित्न सफल भएकी हुन्। सानै उमेरमै देखाएको विद्याको सिर्जनशीलता, कलात्मक सोच र निरन्तर मेहनतले निर्णायक मण्डलको ध्यान आकर्षित गर्न सफल भएको विद्यालयले जनाएको छ।
प्रदेशस्तरको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै विद्याले साउथजोन माध्यमिक विद्यालय मात्र नभई वीरगञ्ज क्षेत्रकै नाम उजागर गरेकी छन्। उनको यो उपलब्धिले विद्यालयका विद्यार्थीहरूमा सिर्जनशीलता र आत्मविश्वास थप प्रेरित भएको विद्यालयको भनाइ छ।
विद्याको सफलताप्रति साउथजोन माध्यमिक विद्यालयका सञ्चालक तथा प्रिन्सिपल सरोज चौधरीले खुशी व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, “विद्याको उपलब्धिले विद्यालयको शैक्षिक तथा सिर्जनात्मक पहिचानलाई थप मजबुत बनाएको छ। विद्यार्थीहरूको प्रतिभा उजागर हुनु नै हाम्रो शिक्षा प्रणालीको सफलता हो।
विद्यालय परिवारले आगामी दिनमा विद्याले कला तथा सिर्जनशीलताको क्षेत्रमा अझ उच्च उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्दै यस्ता प्रतिभाशाली विद्यार्थीलाई निरन्तर प्रोत्साहन र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
कम समयमै शैक्षिक, खेलकुद तथा सिर्जनशील क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको साउथजोन माध्यमिक विद्यालयले भविष्यमा अझ प्रभावकारी, दक्ष र प्रतिभावान विद्यार्थी उत्पादन गर्ने लक्ष्य लिएको प्रिन्सिपल चौधरीले जानकारी दिनुभयो।







