वीरगंज, २१ माघ । ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगिता आजदेखि आदर्शनगर रंगशालामा शुरू भएको छ। जीवन ज्योति माध्यमिक विद्यालयका सञ्चालक एवं प्रिन्सिपल शिवजी गुप्ताको अध्यक्षता तथा वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा उदघाटन समारोह सम्पन्न भएको हो।
नगरप्रमुख सिंहले पानसमा दीप प्रज्वलन गर्दै प्रतियोगिताको औपचारिक उदघाटन गर्दै शिक्षा सँगसँगै खेलकुद क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गरेकोमा आयोजकको प्रशंसा गर्नुभयो। उहाँले ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगिताले साना बालबालिकालाई शैक्षिक विकाससँगै खेलकुदमा समेत अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। “ग्रासरूट तहबाट खेलकुदको विकास भएमा विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा ठूलो योगदान पुग्छ,” नगरप्रमुख सिंहले भन्नुभयो।
कार्यक्रममा वीरगंज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल,प्याब्सनका केन्द्रीय सदस्य छेदुप लामा, मधेस प्रदेश उपाध्यक्ष पुरन प्रधान, सल्लाहकारहरू मनि पाख्रिङ र लालबाबु पटेल,प्याब्सनका वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तव, उपाध्यक्ष शर्माननद कुशवाहा, पूर्व अध्यक्ष आलोक चौरसिया, महानगर सचिव अमित आलोक, कोषाध्यक्ष सुरज बाबु पटेल, जिएचपी स्कुलका डाइरेक्टर ज्याक कौर, प्रिन्सिपल रमित कौरलगायत विभिन्न विद्यालयका प्रिन्सिपल,शिक्षक–शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगितामा १३ वटा विद्यालयको सहभागीता रहेको आयोजकले जनाएको छ। कार्यक्रमको स्वागत मन्तव्य जीवन ज्योति स्कुलकी सञ्चालिका मिनाक्षी गुप्ताले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार उज्ज्वल घिमिरेले गर्नुभएको थियो।





