अभिलाष गुप्ता
वीरगंज, २२ माघ । वीरगंजका लागि iCAUR को आधिकारिक विक्रेता दर्शी अटोमोबाइल्स प्रालि ले बहुप्रतिक्षित iCAUR V23 लाइफस्टाइल इलेक्ट्रिक SUV लाई आधिकारिक रूपमा वीरगन्जमा सार्वजनिक गरेको छ।
वीरगन्जस्थित ओमोडा एण्ड जेको (Omoda & Jaecoo) शोरूम मा आयोजित विशेष कार्यक्रमका बीच iCAUR V23 को औपचारिक अनावरण गरिएको हो। यस सार्वजनिक कार्यक्रमसँगै मधेस प्रदेशमा प्रिमियम तथा उच्च प्रदर्शन क्षमताका विद्युतीय सवारी साधनको विस्तारमा एक महत्वपूर्ण उपलब्धि थपिएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह को उपस्थिति रहेको थियो। साथै दर्शी अटोमोबाइल्स प्रालिका निर्देशकहरू, सञ्चारकर्मी, ग्राहकहरू तथा SPG अटोमोबाइल्स प्रालिका नेतृत्वदायी व्यक्तित्वहरू को उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा अटोमोबाइलप्रेमी तथा वातावरणप्रति सचेत ग्राहकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले विद्युतीय सवारी साधनले वातावरण संरक्षण, इन्धन खर्च कटौती तथा दिगो यातायात प्रणालीमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनीहरूले मधेस प्रदेशमा प्रिमियम इलेक्ट्रिक SUV को माग बढ्दो क्रममा रहेको भन्दै iCAUR V23 ले नयाँ विकल्प प्रस्तुत गर्ने विश्वास व्यक्त गरे।
“Born to Play” भन्ने विश्वव्यापी दर्शन अन्तर्गत डिजाइन गरिएको iCAUR V23 एक रेट्रो-प्रेरित, पूर्ण विद्युतीय अफ-रोड SUV हो। यसले क्लासिक रग्ड डिजाइन र अत्याधुनिक प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गर्दछ। ४९.९९ लाख रुपैयाँ मूल्य तोकिएको iCAUR V23 लाई परम्परागत पेट्रोल तथा डिजेल सवारी साधनको दिगो, शक्तिशाली र स्टाइलिश विकल्पका रूपमा प्रस्तुत गरिएको कम्पनीको भनाइ छ।
प्राविधिक विशेषताका रूपमा iCAUR V23 मा ५९.९३ kWh क्षमताको LFP ब्याट्री र १०० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ४०१ किलोमिटर (CLTC) सम्मको रेन्ज प्रदान गर्दछ।क्लासिक गोलो हेडलाइट, २१० एमएम ग्राउन्ड क्लियरेन्स सहितको आकर्षक बक्सी (Boxy) डिजाइन ले यसलाई शहरी सडकदेखि अफ-रोड यात्रासम्म उपयुक्त बनाएको छ।
भित्री सुविधातर्फ, यसमा १५.४ इन्चको प्रिमियम इन्फोटेनमेन्ट डिस्प्ले, आधुनिक डिजिटल इन्टरफेस तथा सुरक्षाका लागि लेभल–२ ADAS (Advanced Driver Assistance System) फिचरहरू समावेश गरिएको छ। पछाडिका सिटहरू फोल्ड गर्दा ७४४ लिटरको विशाल ट्रंक स्पेस उपलब्ध हुने भएकाले यसले पारिवारिक तथा एड्भेन्चर यात्रालाई थप सहज बनाउनेछ।
प्रिमियम लाइफस्टाइल इलेक्ट्रिक SUV सेगमेन्टमा प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत गरिएको iCAUR V23 को डेलिभरी, पहिले नै प्रि–बुकिङ गरेका ग्राहकहरूका लागि SPG अटोमोबाइल्स प्रालिको नेपालभर रहेको आधिकारिक डिलर नेटवर्कमार्फत तत्काल सुरु गरिने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार iCAUR V23 ले मधेस प्रदेशसहित नेपालमा विद्युतीय सवारी साधनको नयाँ अनुभव र स्तर स्थापित गर्ने अपेक्षा गरिएको छ।







