वीरगंज, २३ माघ । पर्सा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले श्रमिक(मजदुर)को पक्षमा सदैव आवाज उठाउने एकमात्र पार्टी एमाले नै भएको बताएका छन् ।
परवानीपुरमा शुक्रबार एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मधेश प्रदेशले आयोजना गरेको श्रमिक भेलालाई सम्बोधन गर्दै यादवले भने,‘ श्रमिक(मजदुर)को पक्षमा सदैव आवाज उठाउने एकमात्र पार्टी एमाले हो । बाँकी सबै अवसरवादी हुन् ।’
श्रमिक वर्गको बलिदान, पसिना र संघर्षकै बलमा देशको अर्थतन्त्र चलेको भन्दै उनले श्रमिकको अधिकार सुरक्षित नगरी समृद्ध नेपाल सम्भव नहुनेपनि बताए।
पूर्वमन्त्री समेत रहेका एमाले उम्मेदवार यादवले निर्वाचनमा जित सुनिश्चित गर्न श्रमिक वर्गको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताउँदै भने, “श्रमिक जागेन भने परिवर्तन सम्भव हुँदैन। श्रमिक संगठित भयो भने गलत राजनीति टिक्न सक्दैन।” उनले श्रमिकलाई केवल भोट बैंकको रूपमा हेर्ने प्रवृत्तिको आलोचना गर्दै एमालेले श्रमिकलाई नीति निर्माणको केन्द्रमा राख्दै आएको दाबी गरे।
उनले आफू संसदमा रहँदा श्रमिकका मुद्दा निरन्तर उठाउँदै आएको स्मरण गराउँदै न्यूनतम ज्याला, सुरक्षित कार्यस्थल, सामाजिक सुरक्षा, श्रम ऐनको प्रभावकारी कार्यान्वयनजस्ता विषयमा एमालेको स्पष्ट धारणा रहेको बताए। “संसदमा श्रमिकका आवाज दबिन नदिने काम मैले निरन्तर गरेको छु,” यादवले भने।
एमालेले केवल भाषणमा होइन, व्यवहारमै श्रमिक अभियानलाई अगाडि बढाउँदै आएको जिकिर गर्दै भने“श्रमिकका छोराछोरीको शिक्षा, स्वास्थ्य र रोजगारी हाम्रो प्राथमिकता हो,”
विशेषगरी बारा–पर्सा औद्योगिक करिडोरमा देखिएका श्रमिक समस्याप्रति गम्भीरता साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्दै यादवले उद्योगमा श्रमिक शोषण, असुरक्षित काम, समयमै तलब नपाउने समस्या, सामाजिक सुरक्षा कोषमा अनियमितता जस्ता विषयलाई प्राथमिकतामा राखेर समाधान खोज्ने बताए। उनले उद्योगी र श्रमिकबीच सन्तुलन कायम गर्दै दुवै पक्षलाई फाइदा हुने नीति एमालेले अघि सारेको स्पष्ट पारे।
कार्यक्रममा सहभागी श्रमिकहरूले पनि आफ्नो समस्या खुलस्त राख्दै एमाले नेतृत्वबाट ठोस समाधानको अपेक्षा व्यक्त गरेका थिए।भेलाले आगामी निर्वाचनमा श्रमिक वर्ग एकजुट भएर नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई विजयी गराउने संकल्प समेत गरेको आयोजकले जनाएका छन्।
नेपाल ट्रेड युनियन महासंघ मधेश प्रदेश जिफन्ट पर्साको अध्यक्ष गिता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेकि केन्द्रीय सदस्य निर्मला देवकोटा,पर्सा अध्यक्ष विश्वम्भर शर्मा,जिल्ला सदस्य सुन्दर कुर्मी,ट्रेड युनियनका प्रदेश उपाध्यक्ष अमर यादव लगाएतकाले मन्तव्य राखेका थिए ।






