वीरगंज, २५ माघ । वीरगंज महानगरपालिका वडा नम्बर २ का पूर्व वडाध्यक्ष शेख अब्बास नेकपा एमालेमा प्रवेश गरेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम नेपाल र अहिलेको जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित अब्बास जसपा नेपाल परित्याग गरि एमालेमा प्रवेशमा प्रवेश गरेका हुन् ।
आइतबार बिहान वीरगंज–२ छपकैयामा आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रममा पर्सा क्षेत्र नम्बर २ का एमाले उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले अब्बासहितका नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरे ।
कार्यक्रममा बोल्दै एमाले उम्मदवार यादवले जनताको हरेक दुखसुखमा आँफु साथमा रहदै आएको बताए । उनले भने,‘अहिले चुनावमा भोट माग्न रुप फेरेर अनेक नेताहरु जनताकोमा आइरहेका छन् ।हिजो खानेपानीको संकट हुदाँ उनिहरु कहाँ थिए ? हैजाको महामारीमा उनिहरु कहाँ थिए ? त्यसबेला त यहि प्रदीप यादव जनताको बीचमा आएको थियो । त्यसका कारण अब कस्लाई जिताउने यो जनताकै हातमा छ ।’
उनले देश जलाउने कि देश जोगाउनेलाई भोट दिने भन्ने प्रश्न जनताको बीचमा आएको भन्दै देश बनाउने लाई नै जनताले आफ्नो जनप्रतिनिधि बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा एमाले केन्द्रिय सदस्य निर्मला देवकोटा, जिल्ला सचिव महेस दास, क्षेत्रीय संयोजक मानदेव हजरा, नेता सुन्दर कुर्मी लगायतकाको पनि सहभागिता थियो ।






