वीरगंज,२८ माघ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति पर्साको आयोजनामा साइन्स विषय अध्यापन गरिरहेका शिक्षकहरूका लागि एक दिने क्षमता अभिवृद्धि प्रशिक्षण तालिम सम्पन्न भएको छ।
वीरगंज पब्लिक कलेजको सभा हलमा आयोजित उक्त तालिममा प्याब्सन सँग आबद्ध करिब ४० जना शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रम प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले निजी विद्यालयमा अध्यापनरत शिक्षक–शिक्षिकाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो। तालिममा सिकेका ज्ञान र सीपलाई आफ्नो विद्यालयमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न उहाँले सहभागी शिक्षकहरूलाई सुझाव दिनु भयो।
उहाँले वर्तमान समय प्रविधिमैत्री बन्दै गएको सन्दर्भमा साइन्स विषयको महत्व अझ बढ्दै गएको उल्लेख गर्दै शिक्षकहरू पनि समयअनुसार अद्यावधिक हुन आवश्यक रहेको धारणा राख्नुभयो।
संगम बुक्स एण्ड पब्लिकेसनको संयोजनमा सम्पन्न तालिममा प्रशिक्षकका रूपमा डा. चिन्तामणि पन्थीले सहजीकरण गर्नुभएको थियो। उहाँले हालको शैक्षिक परिवेशमा हिजोका पाठ्यवस्तु मात्र पर्याप्त नहुने भन्दै प्रविधिको प्रयोगसँगै शिक्षकहरू पनि ‘एडभान्स’ हुन जरुरी रहेको बताउनुभयो।
डा. पन्थीले हिजो र आजका पाठ्यसामग्री तथा विषयवस्तुमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै समयको मागअनुसार शिक्षकहरूले आफूलाई अद्यावधिक गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउनु भयो। आधुनिक साइन्स शिक्षा व्यावहारिक ज्ञान र बहुआयामिक विषयवस्तुसँग जोडिएको हुँदा शिक्षक हरू त्यसबारे जानकार हुनु अत्यावश्यक रहेको उहाँको भनाइ थियो।
तालिम कार्यक्रममा प्याप्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशीला साह, सचिव अशोक संग्रौला, जिल्ला सदस्य सुलभ केसी, फजिल अहमदलगायतको उपस्थिति रहेको थियो।






