वीरगंज, २९ माघ । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवामा जनता समाजवादी पार्टी (जसपा) बाट पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीको घरदैलो अभियान उत्साहका साथ सम्पन्न भएको छ । स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट, संवाद र समस्या सुन्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा जसपाका नेता तथा पूर्वमन्त्री रमेश कुर्मी, जसपा नेतृ करिमा वेगम लगायत पार्टीका नेताकार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।
घरदैलो अभियानका क्रममा उम्मेदवार टेमानीले घरघर पुगेर मतदातासँग हातेमालो गर्दै उनीहरूको दैनिक जीवनसँग जोडिएका समस्या, अपेक्षा र सुझावलाई ध्यानपूर्वक सुनेका थिए । रामगढवाका बासिन्दाले विशेषगरी शिक्षा, स्वास्थ्य सेवा, बेरोजगारी, आधारभूत पूर्वाधारको अभाव तथा युवाहरूको पलायन जस्ता विषयलाई प्रमुख गुनासोका रूपमा उठाएका थिए । स्थानीय अभिभावकहरूले सामुदायिक विद्यालयको गुणस्तर सुधार, शिक्षक दरबन्दी व्यवस्थापन र छात्रछात्राको शैक्षिक वातावरण सुदृढ पार्न ठोस पहल आवश्यक रहेको बताए । त्यस्तै, स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो थियो ।
युवाहरूले रोजगारीको अभावका कारण विदेशिनु पर्ने अवस्था आएको भन्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजनाको माग गरे । महिला समूहहरूले स्वरोजगार, साना उद्यम प्रवद्र्धन, र सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए । वृद्धवृद्धा तथा असहाय नागरिकहरूले सामाजिक सुरक्षा भत्ता वितरणमा देखिएका झन्झट र ढिलासुस्तीबारे ध्यानाकर्षण गराएका थिए ।
मतदाताका यिनै समस्या सुन्दै उम्मेदवार टेमानीले आफू निर्वाचित भएपछि शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिक एजेण्डा बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गर्दै विद्यालय सुधार कार्यक्रम, स्वास्थ्य चौकी सुदृढीकरण, र युवाहरूका लागि सीपमूलक तालिम तथा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए । ‘जनताको समस्या नै मेरो एजेण्डा हो, रामगढवाको आवाज संसदसम्म पुर्याउने दायित्व म लिन्छु,’ टेमानीले भने ।
कार्यक्रममा सहभागी पूर्वमन्त्री रमेश कुर्मीले जसपाले सदैव जनताको अधिकार, समावेशी विकास र सामाजिक न्यायका मुद्दालाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे । उनले अशोक टेमानी जनतासँग प्रत्यक्ष जोडिएको, जनभावना बुझ्ने र समाधानका लागि प्रतिबद्ध उम्मेदवार भएको भन्दै उनलाई जिताउन आग्रह गरे । जसपा नेतृ करिमा वेगमले महिलाको सशक्तीकरण, शिक्षा र स्वास्थ्यमा सुधार ल्याउन जसपाको स्पष्ट दृष्टिकोण रहेको बताउँदै मतदातालाई परिवर्तनका लागि साथ दिन अपिल गरिन् ।
घरदैलो कार्यक्रमले रामगढवामा चुनावी माहोल थप तातेको देखिएको छ । स्थानीय बासिन्दाले उम्मेदवारसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएकोमा सन्तुष्टि व्यक्त गरेका थिए । मतदाताको घरआँगनमै पुगेर समस्या सुन्ने र समाधानको प्रतिबद्धता जनाउने शैलीले उम्मेदवार टेमानीप्रति सकारात्मक धारणा बनेको सहभागीहरूको भनाइ थियो ।
यस प्रकारको घरदैलो अभियानले मतदाता र उम्मेदवारबीच विश्वासको सम्बन्ध मजबुत बनाउने विश्वास जसपा नेताहरूले व्यक्त गरेका छन् । रामगढवाबाट सुरु भएको यो अभियान पर्सा क्षेत्र नं. २ का अन्य वडाहरूमा समेत निरन्तर सञ्चालन गरिने जनाइएको छ ।






