वीरगंज, २ फागुन । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादवले आफ्नो चुनावी अभियानलाई थप सशक्त बनाएका छन्। शनिबार उनले वीरगंज महानगरपालिकाका विभिन्न वडामा वडा भेला तथा पार्टी सुदृढीकरण कार्यक्रमहरूमा सहभागिता जनाएका हुन्।
शनिबार बिहानदेखि नै चुनावी कार्यक्रमलाई तीव्रता दिँदै उम्मेदवार यादवले वीरगंज महानगरपालिका वडा नं. ३० लालपर्सामा आयोजित वडा एकाइ भेला तथा पार्टी प्रवेश कार्यक्रममा सहभागिता जनाए। त्यसैगरी वडा नं. ३१ बेल्वामा एकाइ कमिटीद्वारा आयोजित वडा स्तरीय भेला कार्यक्रममा पनि उनी सहभागी भएका थिए।
वडा नं. ३० र वडा नं. ३१ मा सम्पन्न कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भेलालाई सम्बोधन गर्दै उम्मेदवार यादवले विकास, समृद्धि र स्थायित्वका पक्षमा पुनः एकताबद्ध भएर उभिन मतदाता तथा जनसमुदायलाई आग्रह गरे। उनले पर्साको समग्र विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा बोल्दै नेकपा एमालेका अन्य नेताहरूले पार्टी एकढिक्का भएर चुनावी मैदानमा उत्रिएको दाबी गर्दै कुनै पनि प्रकारको भ्रम, अफवाह वा बहकावामा नपर्न कार्यकर्ता तथा मतदातालाई आग्रह गरेका थिए। उनीहरूले आगामी निर्वाचनमा पार्टीलाई निर्णायक विजय दिलाउन सबै तह र तप्काबाट सक्रियता बढाउनुपर्नेमा जोड दिएका थिए।





