वीरगंज, २ फागुन। नेकपा एमाले पर्साले वीरगंज महानगरपालिका वडा नं. २१ मा चुनावी प्रचार–प्रसार तथा सम्पर्क कार्यालय स्थापना गरेको छ। एक विशेष कार्यक्रमका बीच नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादवले उक्त कार्यालयको उद्घाटन गरेका हुन्।
आगामी निर्वाचनलाई केन्द्रित गर्दै स्थापना गरिएको उक्त कार्यालयमार्फत चुनावी गतिविधिलाई थप तीव्रता दिइने पार्टी नेताहरूले बताएका छन्। कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमालेका अगुवा नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले लोकतन्त्र र संविधानको रक्षा, मधेश केन्द्रित कानुन निर्माण, क्षेत्रीय विकास तथा समृद्धि, र जनताको समस्याको समाधानलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएको बताए। उनले जनताको विश्वास र समर्थनसहित समृद्ध पर्सा निर्माणमा प्रतिबद्ध रहेको उल्लेख गरे।
नेताहरूले वडा नं. २१ बाट पार्टीलाई बलियो जनसमर्थन प्राप्त हुने विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा निर्णायक सफलता हासिल गर्ने दाबी गरेका छन्।








