अभिलाष गुप्ता
वीरगंज, ०९ फागुन । एन्जल वर्ल्ड स्कूलको २२ औं वार्षिक उत्सवको अवसरमा आयोजित विविध सांस्कृतिक कार्यक्रमसहित “श्रृजना उत्सव” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम वीरगञ्जस्थित नगर सभागृह टाउन हलमा सम्पन्न भएको थियो। विद्यालयका सञ्चालक राम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा Madhesh University का उपकुलपति डा. दिपक शाक्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
विशिष्ट अतिथिहरूमा वीरगंज महानगरपालिकाका शिक्षा प्रमुख आनन्द लामिछाने, PABSON Parsa का अध्यक्ष सरोज चौधरी, Nepal Innovative Society का अध्यक्ष कमल चौगाई, विद्यालयका निर्देशक पवित्रा श्रेष्ठ, गणेश श्रेष्ठ तथा हिसानका मुकेश गुप्ता लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा स–साना बालबालिकाहरूले गीत, नृत्य तथा नाटक प्रस्तुत गर्दै आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको आकर्षक प्रस्तुति र रंगीन सांस्कृतिक कार्यक्रमले सम्पूर्ण सभाहललाई उत्साहमय बनाएको थियो। विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. दिपक शाक्यले विद्यालयले शिक्षा मात्र नभई संस्कार, सृजनशीलता र नेतृत्व विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो,“विद्यालय भनेको केवल पाठ्यपुस्तकको ज्ञान दिने स्थान मात्र होइन, यो भविष्यका सक्षम नागरिक निर्माण गर्ने थलो हो। आजका यी बालबालिकाहरूको आत्मविश्वासपूर्ण प्रस्तुति देख्दा शिक्षा सही दिशामा अघि बढिरहेको अनुभूति हुन्छ।”
उहाँले गुणस्तरीय शिक्षासँगै नैतिक मूल्य, अनुशासन र नवप्रवर्तनलाई जोड दिन आवश्यक रहेको उल्लेख गर्दै यस्ता सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। साथै, विद्यालय परिवारलाई आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो।





