वीरगंज, १३ फागुन । पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा आगामी प्रतिनिधिसभा निर्वाचनसँगै चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । यसैक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य तथा स्थापित उद्योगपति अशोक कुमार टेमानी उम्मेदवारका रूपमा मतदातामाझ प्रस्तुत भएका छन् । उद्योग, व्यापार र सामाजिक सेवाको लामो अनुभव बोकेका टेमानीलाई यसपटक विकास र समृद्धिको एजेण्डा सहित चुनावी मैदानमा उत्रिएका उम्मेदवारका रूपमा हेरिएको छ ।
वीरगंज निवासी अशोक कुमार टेमानी करिब ३५ वर्षभन्दा बढी समयदेखि उद्योग, व्यापार, आयात निर्यात, अन्तर्राष्ट्रिय व्यवसाय तथा लजिस्टिक्स क्षेत्रमा सक्रिय रहँदै आएका छन् । निजी क्षेत्रमार्फत आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवद्र्धनमा उनको भूमिका उल्लेखनीय मानिन्छ । मधेश प्रदेशको आर्थिक केन्द्रका रूपमा परिचित वीरगंजको औद्योगिक वातावरण सुदृढ बनाउन उनले खेलेको भूमिकालाई व्यवसायी समुदायले सकारात्मक रूपमा लिने गरेका छन् ।
शिक्षा तथा अन्तर्राष्ट्रिय अनुभवका दृष्टिले पनि टेमानी फराकिलो दृष्टिकोण राख्ने नेतृत्वकर्ताका रूपमा चिनिन्छन् । उनले हार्बड युनिभरसिटि (अमेरिका) मा नेतृत्व तथा सार्वजनिक नीति सम्बन्धी कार्यकारी शिक्षा हासिल गरेका छन् । अमेरिका, जापान, डेनमार्क लगायतका देशहरूमा व्यवसाय व्यवस्थापन, कर्पोरेट सुशासन र स्वच्छ उत्पादन सम्बन्धी तालिम लिएका उनले अन्तर्राष्ट्रिय अभ्यासलाई स्थानीय सन्दर्भमा लागू गर्नुपर्नेमा जोड दिँदै आएका छन् । साथै अमेरिका, चीन, भारत, जापान, सिंगापुर, थाइल्याण्ड र फिलिपिन्स जस्ता मुलुकहरूमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तारमा योगदान पुर्याएका छन् ।
संस्थागत नेतृत्वतर्फ उनी हाल नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष छन् भने केन्द्रीय कार्यकारी बोर्ड सदस्यका रूपमा पनि क्रियाशील रहेका छन् । यसअघि वीरगंज उद्योग वाणिज्य संघका अध्यक्षको जिम्मेवारी सम्हालिसकेका टेमानीले निजी क्षेत्रको हकहित र औद्योगिक वातावरण सुधारका विषयमा स्पष्ट आवाज उठाउँदै आएका छन् । उनी नेपाल–भारत सामाजिक आर्थिक फोरमका अध्यक्ष समेत छन्, जसले सीमा क्षेत्रको व्यापार सहजीकरण र आर्थिक सहकार्यलाई प्राथमिकता दिँदै आएको छ ।
सामाजिक सेवामा पनि टेमानीको सक्रियता उल्लेखनीय छ । नेपाल रेडक्रस सोसाइटी तथा नेत्र ज्योति संघका आजीवन सदस्य रहनुका साथै उनी लायन्स क्लब वीरगंज आदर्शनगरका पूर्व अध्यक्ष समेत छन् । जिल्ला कराँते संघ पर्साका संस्थापक अध्यक्षका रूपमा युवालाई खेलकुद मार्फत अनुशासन र नेतृत्व विकासमा प्रेरित गरेका छन् । मधेश विश्वविद्यालय र हरि खेतान कलेजका सिनेट सदस्यका रूपमा शैक्षिक क्षेत्रसँगको सम्बन्ध पनि बलियो बनाउँदै आएका छन् ।
राजनीतिक रूपमा उनी जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य छन् । निजी क्षेत्रको अनुभवलाई नीति निर्माण तहमा पुर्याउने उद्देश्यसहित उनी यसपटक पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । ‘उद्योगमैत्री नीति, रोजगारी सिर्जना र पारदर्शी शासन’ आफ्नो मुख्य एजेण्डा रहेको उनी बताउँछन् ।
टेमानीले मधेशको आर्थिक सम्भावनालाई राष्ट्रिय समृद्धिसँग जोड्ने दृष्टिकोण अघि सारेका छन् । सीमा नाकाको व्यवस्थित सञ्चालन, औद्योगिक करिडोरको विस्तार, साना तथा मध्यम उद्यमलाई प्रोत्साहन, युवा उद्यमशीलता विकास र प्राविधिक शिक्षामा लगानी वृद्धि आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।
पर्सा क्षेत्र नं. २ मा यसपटक विकास, सुशासन र आर्थिक एजेण्डालाई केन्द्रमा राखेर प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।
उद्योग र सामाजिक सेवाको लामो अनुभवसहित उम्मेदवारी दिएका अशोक कुमार टेमानीलाई मतदाताले कत्तिको विश्वास गर्छन् भन्ने विषयले आगामी निर्वाचनको परिणाम तय गर्नेछ । तर एउटा कुरा स्पष्ट छ टेमानीले आफूलाई केवल राजनीतिक उम्मेदवार मात्र नभई अनुभवी व्यवस्थापक र समाजसेवी नेतृत्वका रूपमा प्रस्तुत गरेका छन् ।





