वीरगंज, १४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको अवसरमा पर्सा क्षेत्र नम्बर–१ का अनिल कुमार रुगटाले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्।
नेपाली कांग्रेसको चुनावी अभियानअन्तर्गत वीरगंज स्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रुगटाले स्थानीय तहमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने र समग्र विकासलाई गति दिने योजना सहित प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन्।
उनले जनमुखी र पारदर्शी सेवाको सुनिश्चितताका लागि आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै जनता र सरकारबीच समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन्। आफ्ना योजनाले आत्म सम्मान युक्त पर्सा निर्माण गर्दै समृद्ध राष्ट्रतर्फ योगदान पुर्याउने विश्वास समेत उनले व्यक्त गरे।
रुगटाको प्रतिज्ञापत्रमा पिउने पानीको सहज उपलब्धता, गुणस्तरीय स्वास्थ्य सेवा, सीपमूलक शिक्षा, आर्थिक विकास, निष्पक्ष अवसर वितरण, हरित वीरगंज अभियान, नारायणी रंगशालाको पुनःनिर्माण, महिला सशक्तिकरण र सुशासनलाई प्रमुख प्राथमिकतामा राखिएको छ।
उद्योग सञ्चालन सम्बन्धी प्रश्नमा उनले सिरसिया नदीमा कुनै प्रदूषण नपुर्याएको दाबी गर्दै निष्पक्ष समिति मार्फत अध्ययन–अनुसन्धान गर्न आह्वान गरे। साथै आफ्नै उद्योगमा ९५ प्रतिशत रोजगारी नेपाली नागरिकले पाएको जानकारी दिए।
पत्रकार सम्मेलन कन्चा झाले सञ्चालन गरेका थिए। कार्यक्रममा जनार्दन सिंह क्षेत्री,अजय कुमार द्विवेदी, राम नारायण कुर्मी,अरविन्द गुप्ता,भोला कलवार,किरण सरकार,दीपेन्द्र चौहान,श्याम पोख्रेल र मनोज दासलगायत नेताहरूको उपस्थिति रहेको थियो।
प्रतिज्ञापत्र मार्फत रुगटाले पर्सा–१ का मतदाताको अपेक्षा सम्बोधन गर्दै विकास र स्थायित्वका पक्षमा जनमत जुटाउने विश्वास व्यक्त गरेका छन्।





