वीरगंज, १६ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा चुनावी माहोल रोमाञ्चक बन्दै गएको छ । मुख्य प्रतिस्पर्धा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अशोक टेमानी र नेकपा एमालेकी उम्मेदवार रिमा यादवबीच हुने आँकलन गरिएको छ । यद्यपी चुनावी गतिविधि र जनसमर्थनको आधारमा टेमानी हाल अग्रस्थानमा देखिएका छन् भने नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टीले पछ्याइरहेको स्थानीय विश्लेषकहरूको भनाई छ ।
उद्योग, व्यापार र सामाजिक सेवाको लामो अनुभव बोकेका टेमानीलाई यसपटक विकास र समृद्धिको एजेण्डासहित चुनावी मैदानमा उत्रिएका उम्मेदवारका रूपमा हेरिएको छ । वीरगंज निवासी टेमानी करिब ३५ वर्षभन्दा बढी समयदेखि उद्योग, व्यापार, आयात निर्यात, अन्तर्राष्ट्रिय व्यवसाय तथा लजिस्टिक्स क्षेत्रमा सक्रिय रहँदै आएका छन् । निजी क्षेत्रमार्फत आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवद्र्धनमा उनको भूमिका उल्लेखनीय मानिन्छ । मधेश प्रदेशको आर्थिक केन्द्रका रूपमा परिचित वीरगंजको औद्योगिक वातावरण सुदृढ बनाउन उनले खेलेको भूमिकालाई व्यवसायी समुदायले सकारात्मक रूपमा लिने गरेका छन् ।
शिक्षा तथा अन्तर्राष्ट्रिय अनुभवका दृष्टिले पनि टेमानी फराकिलो दृष्टिकोण राख्ने नेतृत्वकर्ताका रूपमा चिनिन्छन् । उनले हार्बड युनिभरसिटि (अमेरिका) मा नेतृत्व तथा सार्वजनिक नीति सम्बन्धी कार्यकारी शिक्षा हासिल गरेका छन् । अमेरिका, जापान, डेनमार्क लगायतका देशहरूमा व्यवसाय व्यवस्थापन, कर्पोरेट सुशासन र स्वच्छ उत्पादन सम्बन्धी तालिम लिएका उनले अन्तर्राष्ट्रिय अभ्यासलाई स्थानीय सन्दर्भमा लागू गर्नुपर्नेमा जोड दिँदै आएका छन् । साथै अमेरिका, चीन, भारत, जापान, सिंगापुर, थाइल्याण्ड र फिलिपिन्सजस्ता मुलुकहरूमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तारमा योगदान पुर्याएका छन् ।
संस्थागत नेतृत्वतर्फ उनी हाल नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष छन् भने केन्द्रीय कार्यकारी बोर्ड सदस्यका रूपमा पनि क्रियाशील रहेका छन् । यसअघि वीरगंज उद्योग वाणिज्य संघका अध्यक्षको जिम्मेवारी सम्हालिसकेका टेमानीले निजी क्षेत्रको हकहित र औद्योगिक वातावरण सुधारका विषयमा स्पष्ट आवाज उठाउँदै आएका छन् । उनी नेपाल–भारत सामाजिक आर्थिक फोरमका अध्यक्षसमेत छन्, जसले सीमा क्षेत्रको व्यापार सहजीकरण र आर्थिक सहकार्यलाई प्राथमिकता दिँदै आएको छ ।
चुनावी मैदानमा अन्य दलका उम्मेदवारहरू पनि सक्रिय छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशिल साह कानु तेश्रो स्थानमा रहेको आँकलन गरिएको छ भने राप्रपाकी उम्मेदवार विना जयसवाल र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनोज चौधरी चौथो र पाँचौँ स्थानमा रहेको आँकलन गरिएको छ । यसैगरि नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसिया चुनावी दौड बाहिर रहेको विश्लेषकहरुको बुझाई छ । चौरसिया पटक पटक निर्वाचित भई जनताको हकहितको लागि सन्तोषजनक काम नगरेको कारण उनीप्रति मतदाताहरु रुष्ट रहेको कारण उनी चुनावी दौड बाहिर रहेको विश्लेषकहरुको भनाई छ ।
यद्यपि अन्तिम परिणाम मतदाताको निर्णयमा निर्भर रहनेछ, हालसम्मको जनसम्पर्क, घरदैलो अभियान र सामाजिक सक्रियताका आधारमा अशोक टेमानी पर्सा क्षेत्र नं. २ को निर्वाचन दौडमा अग्रस्थानमा रहेको सन्देश स्पष्ट देखिएको छ । चुनाव नजिकिँदै जाँदा प्रतिस्पर्धा अझै रोचक बन्ने अपेक्षा गरिएको छ । पर्सा जिल्ला अन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि ९५ हजारभन्दा बढी मतदाता रहेका छन् । पछिल्लो मतदाता नामावलीअनुसार यस क्षेत्रमा कुल ९५ हजार ११२ मतदाता कायम भएका छन् ।
तथ्यांकअनुसार पुरुष मतदाता ५३ हजार ७१३, महिला मतदाता ४१ हजार ३९६ तथा अन्य लिङ्गका ४ जना मतदाता रहेका छन् । मतदाताको यो संख्या अनुसार पर्सा–२ जिल्लाकै महत्वपूर्ण र प्रतिस्पर्धात्मक क्षेत्रको रूपमा चिनिएको छ । निर्वाचनलाई लक्षित गर्दै मतदान स्थल र मतदान केन्द्र व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । यस क्षेत्रमा ३८ मतदान स्थल निर्धारण गरिएको निर्वाचन कार्यालयले जनाएको छ । पर्सा–२ मा विभिन्न नगरपालिका र वडा समावेश छन् । विशेषगरी बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका तथा वीरगंज महानगरपालिकाका केही वडाहरू यस निर्वाचन क्षेत्रमा पर्दछन् । यी क्षेत्रहरूमा शहरी तथा ग्रामीण मतदाताको मिश्रित उपस्थिति रहेकाले चुनावी परिणाममा दुवै पक्षको मत निर्णायक बन्ने आँकलन गरिएको छ ।
मतदाता संख्या उल्लेखनीय रहेकाले पर्सा–२ मा यसपटकको निर्वाचन परिणाम रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । चुनाव नजिकिँदै जाँदा यहाँको राजनीतिक सरगर्मी अझै बढ्दै गएको छ ।





