वीरगंज, १७ फागुन । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा होली मिलन समारोह भव्य रूपमा सम्पन्न भएको छ। आपसी सद्भाव, एकता र सहकार्यको सन्देश दिने होली पर्वको शुभकामना साटासाट गर्दै सम्पूर्ण प्याब्सनिष्टहरुले निजी विद्यालयबीच समन्वय र शैक्षिक गुणस्तर अभिवृद्धिमा संयुक्त प्रयास गर्ने अठोट व्यक्त गरेका छन् ।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र प्याब्सन बीरगन्जका अध्यक्ष राहुल श्रीवास्तवले संयुक्त अध्यक्षता सिद्धार्थ नेशनल स्कूल परिसरमा आयोजित होली मिलन समारोहमा एक अर्कामा शुभकामना साट्दै अबिर लगाएर आपसी एकताको मजबुत गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । रंग, अबिर र शुभकामना आदान–प्रदानसँगै सम्पन्न होली मिलन समारोहले शिक्षा क्षेत्रका अगुवाहरूबीच सहकार्य र सौहार्द अझ सुदृढ भएको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा प्याब्सन वीरगंजका प्रमुख सल्लाहकार आलोक चौरसिया, प्याब्सन पर्साका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, प्याब्सन मधेशका उपाध्यक्षद्वय इमामुद्दिन अहमद र पूरण प्रधान, प्याब्सन मधेशका प्राज्ञिक सल्लाहकार लालबाबु पटेल, सल्लाहकार मणि पाख्रिन, तथा प्याब्सन केन्द्रिय प्राज्ञिक सल्लाहकार डा हरिशंकर साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
वक्ताहरूले होली पर्वले आपसी सद्भाव, एकता र सहकार्यको सन्देश दिने उल्लेख गर्दै निजी विद्यालयबीच समन्वय र शैक्षिक गुणस्तर अभिवृद्धिमा संयुक्त प्रयास आवश्यक रहेको धारणा राखे। कार्यक्रममा प्याब्सन पर्साका सल्लाहकार हरिश्याम ठाकुर, पूर्व उपाध्यक्ष शिव गुप्ता, प्याब्सन बीरगन्जका सचिव अमित आलोक, कोषाध्यक्ष सुरज पटेल लगायत प्याब्सन आबद्ध विद्यालयका संस्थापक तथा प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।समारोहको सञ्चालन प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले गरेका थिए।







