गोरखा, ३० फागुन । गोरखास्थित मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
प्राप्त जानकारीअनुसार गाडीमा १५ जना भारतीय नागरिक सवार थिए। तीमध्ये ७ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकी ८ जनाको सकुशल उद्धार गरिएको छ।
घाइतेमध्ये ७ जनाको आँबुखैरेनी अस्पताल मा उपचार भइरहेको छ भने गम्भीर घाइते एक जनालाई थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ ।
घटनास्थलमा रहेका केही शव निकाल्न सशस्त्र प्रहरीको टोली खटिएको थियो। प्राप्त खबर अनुसार दुर्घटना शनिबार राति करिब ८ बजेतिर भएको हो। गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको बताइएको छ।
प्रारम्भिक अनुमानअनुसार ओरालो बाटोमा ईभी गाडी तातेर ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।






