वीरगंज, ०६ चैत्र । नेपाल रेडक्रस सोसाइटी अन्तर्गत रेडक्रस सर्कल एक्शन टिम (RCAT) को नयाँ एकाइ शान्तिपूर्ण वातावरणमा गठन गरिएको छ। सामाजिक सेवा, मानवीय सहायता तथा युवा सहभागितालाई थप सशक्त बनाउने उद्देश्यका साथ उक्त एकाइ गठन गरिएको जनाइएको छ।
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा अन्तर्गत गठित नयाँ एकाइमा अध्यक्षमा राहुल पटेल, उपाध्यक्षमा रुची पटेल, सचिवमा अमन पटेल, सहसचिवमा मनिषा राउत चयन भएका छन् भने अन्य सदस्यसहित करिब ४० जनाको समिति गठन गरिएको छ।
कार्यक्रममा रेडक्रसका पदाधिकारी, स्थानीय सरोकारवाला तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले रेडक्रसका सिद्धान्तअनुसार निष्पक्ष, स्वेच्छिक र मानव सेवामा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नयाँ गठित RCAT एकाइले विपद् व्यवस्थापन, रक्तदान कार्यक्रम, जनचेतनामूलक अभियान तथा समुदायमा आवश्यक विभिन्न मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा वक्ताहरूले युवाहरूको सक्रिय सहभागिताले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुर्याउने बताएका थिए। कार्यक्रम शान्तिपूर्ण तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।





