वीरगंज, १३ चैत्र । बालेन्द्र शाह नेपालको ४३ औं प्रधानमन्त्री नियुक्त हुनुभएकोमा देशभर शुभकामनाको लहर चलिरहेको छ। यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता संजोग सिंहले प्रधानमन्त्री शाहप्रति हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
सिंहद्वारा जारी शुभकामना सन्देशमा देश र जनताको हितलाई केन्द्रमा राख्दै सुशासन, पारदर्शिता र समृद्धिको दिशामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। उहाँले प्रधानमन्त्री शाहको नेतृत्वमा मुलुकले नयाँ दिशा, गति र सकारात्मक परिवर्तन हासिल गर्ने अपेक्षा पनि व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री नियुक्तिको खुशीयालीमा वीरगंज–१५ मा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा स्थानीय युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले प्रधानमन्त्री प्रति समर्थन जनाउँदै शुभेच्छा व्यक्त गरेका थिए।
रास्वपाका युवा नेता सिंह वीरगंज–१५ निवासी हुनुहुन्छ। उहाँले युवापुस्ताको तर्फबाट पनि प्रधानमन्त्री शाहप्रति भरोसा र समर्थन व्यक्त गर्नुभएको जनाइएको छ।





