वीरगंज, १८ चैत्र । बारा जिल्लाको निजगढ नगरपालिका मा आज दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–७ का २२ वर्षीय वैभव ढुंगाना र निजगढ नगरपालिका–६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका छन।
दुर्घटनामा घाइते भएका ढुंगानालाई उपचारका लागि एलएस न्यूरो अस्पताल गण्डकमा र श्रेष्ठलाई कलैयास्थित प्रादेशिक अस्पतालमा लगिएको थियो। तर अस्पताल पुर्याइएलगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका छन्, इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।
प्रहरीका अनुसार, सर्लाहीबाट काठमाडौंतर्पm जाँदै गरेको बागमती प्र २–०४२ प ९८२४ नम्बरको मोटर साइकल र विपरीत दिशाबाट आइरहेको बागमती प्र ३–००४प ३६६१ नम्बरको मोटरसाइकल निजगढ नगर पालिका–९ पश्चिम लच्कामा ठोक्किएको थियो। दुर्घटनामा वैभव ढुंगानाले ९८२४ नम्बरको र सुरेश श्रेष्ठले ३६६१ नम्बरको मोटरसाइकल चलाइरहेका थिए।
प्रहरीले घटनाको थप अनुसन्धान शुरू गरेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।





